बाढीपीडितका लागि अख्तियारका पदाधिकारी र कर्मचारीले १५ दिनसम्मको तलब सहयोग गर्ने


काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीहरूले तलबबाट आर्थिक सहयोग गर्ने भएका छन्।

आयोगले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत तल्लो तटीय क्षेत्रमा भएको जनधनको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा परेकाहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्मचारी तथा पदाधिकारीको तलबबाट निश्चित रकम जम्मा गर्ने निर्णय गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आयोगका पदाधिकारीहरूले १५ दिन बराबरको तलब सहयोग गर्नेछन्। त्यस्तै, राजपत्राङ्कित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले १० दिन, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीले ७ दिन, राजपत्र अनङ्कित प्रथम, द्वितीय तथा अन्य श्रेणीका कर्मचारीले ५ दिन र श्रेणीविहीन कर्मचारीले २ दिन बराबरको तलब उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ।

आयोगले भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीबाट भएको अकल्पनीय क्षतिले आफूहरू मर्माहत भएको जनाएको छ।

विपद्मा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आयोगले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बाढीबाट प्रभावित तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको सहयोगमा एकजुट हुन आग्रह गरेको छ।

आयोगका पदाधिकारी तथा कर्मचारीको तलबबाट हुने यो सहयोग विपद्को समयमा राज्यका निकाय र कर्मचारीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउने महत्वपूर्ण पहलका रूपमा देखिएको छ।

२०८३ भाद्र १२, शुक्रबार १५:२३ प्रकाशित
ट्रेन्डिङ समाचार