तत्काल ठूलो जोखिम नरहेको :सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेल


काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा रहेको तालबाट ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो भएको सरकारले जनाएको छ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल ठूलो जोखिम नरहेको बताए। बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले ड्याम फुटेको नभई ग्ल्यासियर फुटेका कारण पानी ओभरफ्लो भएको जानकारी दिए।

उनका अनुसार घटनाबारे परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ सरकारसँग निरन्तर संवाद भइरहेको छ। चीनतर्फबाट पनि तत्काल ठूलो जोखिम नरहेको जानकारी आएको उनले बताए।

यद्यपि नदी आसपासका बासिन्दालाई सतर्क रहन सरकारले आग्रह गरेको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले पनि चिनियाँ पक्षबाट ताल फुटेको सूचना प्राप्त भएको बताएका छन्। अहिले नदी आसपास रहेका मानिसहरूलाई सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ सारिरहेका छन्।

२०८३ भाद्र १२, शुक्रबार १५:०७ प्रकाशित
ट्रेन्डिङ समाचार