काठमाडौं । खप्ती–ढल्केबर २२० केभी प्रसारण लाइनका दुवै सर्किटमा समस्या आएपछि आज काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको कामका कारण केही १३२ केभी लाइन निर्धारित सटडाउनमा रहेका बेला बिहान ८ः५२ बजे खप्ती–ढल्केबर प्रसारण लाइनको सर्किट–१ को तार चुडिएर लाइन ट्रिप भएको थियो। त्यसपछि बिहान ९ः१८ बजे सर्किट–२ समेत ट्रिप भएपछि विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणले भारतको उत्तर प्रदेशस्थित सम्पतिया सबस्टेसन–मैनहिया सबस्टेसन हुँदै वैकल्पिक प्रसारण मार्गबाट विद्युत् आपूर्ति सुरु गरेको थियो। सो व्यवस्थामार्फत बिहान ९ः४४ बजेदेखि काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति पुनः सञ्चालन भएको छ।
प्रसारण लाइनको समस्या पहिचान तथा मर्मतका लागि प्राविधिक टोलीले स्थलगत निरीक्षण गरिरहेको प्राधिकरणले जनाएको छ।


