वैकल्पिक व्यवस्थाबिनै घर भत्काउँदा हिरालाल दुसादको मृत्यु, १२ बुँदे माग


काठमाडौँ । वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा दुसादको मृत्यु भएको घटनाप्रति परिवार तथा अधिकारकर्मीहरूले गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले राष्ट्रिय मानव अधिकार आयोग र सम्बन्धित सरकारी निकायसमक्ष १२ बुँदे मागपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

४७ वर्षीय हिरालालको आत्महत्याको अवस्था कसरी सिर्जना भयो भन्नेबारे स्वतन्त्र छानबिन गर्न माग गरिएको छ। घरटहरा भत्काइएपछि उनी कीर्तिपुर र बोढे क्षेत्रका होल्डिङ सेन्टरमा बस्न बाध्य भएको परिवारको भनाइ छ।

परिवार तथा अधिकारकर्मीहरूले मृतकको अन्त्येष्टि खर्च राज्यले व्यहोर्नुपर्ने, परिवारलाई दीर्घकालीन क्षतिपूर्ति, स्थायी आवास तथा कानुनी स्वामित्वसहितको भूमि उपलब्ध गराउनुपर्ने माग गरेका छन्। साथै, बालबालिकालाई छात्रवृत्ति, परिवारका एक सदस्यलाई रोजगारी तथा आश्रित सदस्यलाई निःशुल्क स्वास्थ्य उपचार र सामाजिक सुरक्षाको व्यवस्था गर्न आग्रह गरिएको छ।

उनीहरूले पूर्वसूचना र वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काउने तथा प्रभावितलाई होल्डिङ सेन्टरमा सार्ने कार्य तत्काल रोक्न पनि माग गरेका छन्। हिरालालको मृत्यु राज्यको विस्थापन नीति र भूमिहीनप्रतिको व्यवहारमाथि गम्भीर प्रश्न उठाउने घटना भएको उनीहरूको दाबी छ।

परिवारका अनुसार भक्तपुरका प्रमुख जिल्ला अधिकारीले राति मन्त्री प्रतिभा रावलसँग फोन संवाद गराएका थिए। संवादका क्रममा मन्त्री रावलले धनीपुर्जासहितको जग्गाका लागि पहल गर्ने र एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने प्रतिबद्धता जनाएपछि शव परीक्षणका लागि हिरालालको शव शिक्षण अस्पतालमा राखिएको जनाइएको छ।

२०८३ श्रावण २९, शुक्रबार ११:२१ प्रकाशित
ट्रेन्डिङ समाचार