जाजरकोट । अविरल वर्षासँगै आएको बाढीले नलगाड नगरपालिकामा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण भेरी करिडोरअन्तर्गतको जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
इलाका प्रहरी कार्यालय रग्दाका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण नलगाड–१० स्थित तासुघाट खोलामा आएको बाढीले सडक अवरुद्ध गर्नुका साथै भौतिक संरचनामा क्षति पुर्याएको हो।
बाढीले नलगाड–१० को रोलीमा रहेको झोलुङ्गे पुलको पश्चिमतर्फको भागसमेत बगाएको छ। सोही स्थानका ढुङ्गा–माटोले बनेका तथा टिनले छाएका चारवटा घर पनि बाढीले बगाएको प्रहरीले जनाएको छ।
घर तथा संरचनामा क्षति पुगे पनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय रग्दाले जनाएको छ। घटनापछि प्रहरी सहायक निरीक्षक दिनेश सुनारको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ।
२०८३ श्रावण २९, शुक्रबार ०९:२१ प्रकाशित


