वर्षाका कारण देशभरका मुख्य राजमार्ग अवरुद्ध


काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार बागमती र कोशी प्रदेशका आधा दर्जनभन्दा बढी सडकखण्डमा यातायात प्रभावित भएको छ।

बागमती प्रदेशमा अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशीका चारकिलो, कोदारी र लिपिङमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। धादिङको थाक्रे–६, आठकिल्लामा पहिरो खस्दा पृथ्वी राजमार्ग पनि अवरुद्ध छ।

रसुवाको उत्तरगया–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैजुङ–स्याफ्रुबेसी सडकखण्ड लामो समयदेखि बन्द छ। सम्भावित बाढीका कारण बीपी राजमार्गको खुर्कोट–नेपालथोक खण्ड र कान्ति लोकपथमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

कोशी प्रदेशमा मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली खण्ड पूर्ण रूपमा अवरुद्ध छ भने भोजपुरको बोखिममा मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। सडकको अवस्था अनिश्चित रहेकाले यात्रा गर्नुअघि प्रहरी वा सम्बन्धित निकायबाट पछिल्लो सूचना लिन आग्रह गरिएको छ।

२०८३ श्रावण २९, शुक्रबार ०९:१७ प्रकाशित
ट्रेन्डिङ समाचार