ग्यास अभाव होइन, रिफिलिङ र सिलिण्डर रोटेशनको समस्या हो, २–३ दिनमै समाधान हुन्छ–आपूर्ति सचिव दुवाडी

समस्या परेकाहरुका लागि टेकुस्थित दुई डिपोबाट ग्याँस बिक्री


काठमाडौं । बजारमा एकाएक देखिएको एलपी ग्यासको अभावले सर्वसाधारण चिन्तित भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासको वास्तविक अभाव नभएको स्पष्ट पारेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाडीले प्रशासनपोस्टसँगको संक्षिप्त कुराकानीमा अहिले देखिएको समस्या ग्यासको आपूर्ति नभई रिफिलिङ र सिलिण्डर रोटेशनको व्यवस्थापनसँग सम्बन्धित रहेको बताए। उनका अनुसार आयात नियमित छ र बजारमा ग्यासको मौज्दात पनि पर्याप्त रहेकाले २–३ दिनभित्रै समस्या समाधान हुनेछ।

यस्तो छ प्रशासनपोस्टसँग सचिव दुवाडीको संक्षिप्त कुराकानी

 बजारमा ग्यास अभावको अवस्था किन देखियो ?
ग्यासको अभाव भएको होइन। आयात नियमित छ र मौज्दात पनि पर्याप्त छ। अहिले देखिएको समस्या रिफिलिङ र सिलिण्डर रोटेशनका कारण हो। केही व्यवस्थापनगत समस्या भएकाले असहजता देखिएको हो।

समस्या कहिलेसम्म समाधान हुन्छ ?
अब दुई–तीन दिनभित्रै रिफिलिङ र सिलिण्डर रोटेशनको व्यवस्थापन सहज हुन्छ। त्यसपछि अहिले देखिएको समस्या पूर्ण रूपमा समाधान हुन्छ। ग्यास सकिन्छ भन्ने हल्लाका आधारमा आवश्यकभन्दा बढी सिलिण्डर भरेर घरमा थुपार्ने काम नगर्नुहोस्। आयातमा कुनै समस्या छैन, त्यसैले अभाव हुने अवस्था पनि छैन।

 तत्काल ग्यास नपाएकाहरूका लागि के व्यवस्था छ ?
आवश्यक परे नेपाल आयल निगमलाई टेकुस्थित दुई डिपोबाट ग्यास बिक्री गर्न निर्देशन दिएका छौं। समस्या परेका उपभोक्ताले त्यहाँबाट ग्यास लिन सक्नुहुन्छ।

उपभोक्तालाई तपाईंको सन्देश ?
ग्यास अभाव हुन्छ भनेर कसैले पनि डर मान्नुपर्दैन। मन्त्रालय र नेपाल आयल निगम दुवै बजार व्यवस्थापनमा सक्रिय छन्। केही दिनभित्रै अवस्था सामान्य हुन्छ। उपभोक्ताले अनावश्यक रूपमा ग्यास सञ्चय नगरी संयमता अपनाइदिन आग्रह गर्दछु।

  • ग्यासको आयात र मौज्दात पर्याप्त रहेको मन्त्रालयको दाबी
  • समस्या रिफिलिङ र सिलिण्डर रोटेशनमा मात्र सीमित
  • २–३ दिनभित्र बजार अवस्था सामान्य हुने सचिव दुवाडीको विश्वास
  • टेकुका दुई डिपोबाट  ग्यास बिक्री 
  • सर्वसाधारणलाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न मन्त्रालयको आग्रह

२०८३ श्रावण १७, आईतवार २१:१५ प्रकाशित
ट्रेन्डिङ समाचार