कालीगण्डकी करिडोरमा पहिरो नियन्त्रणसँगै सडक स्तरोन्नति तीव्र


म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा पहिरो नियन्त्रण तथा सडक स्तरोन्नतिको काम तीव्र पारिएको छ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दी खण्डको गलेश्वरदेखि रातोपानीसम्म विभिन्न स्थानमा पहिरो नियन्त्रण, सडक फराकिलो बनाउने, ग्याबिन जाली, पक्की पर्खाल निर्माण तथा सडक ढलानको काम अघि बढाएको हो।

आयोजनाका अनुसार गलेश्वर–वैँसरी खण्डमा गुरुङ शङ्करश्री क्रियटिभ जेभीसँग सात करोड ३० लाख रुपियाँमा ठेक्का सम्झौता गरी काम भइरहेको छ। यस खण्डमा तिल्केनी, राउपारे र वैँसरी क्षेत्रमा सडक ढलान तथा संरक्षण संरचना निर्माण गरिँदैछ।

त्यस्तै वैँसरी–रातोपानी खण्डमा कालीमाता–थापाकाजी–रासुवा जेभीसँग आठ करोड रुपियाँमा ठेक्का सम्झौता गरी सडक स्तरोन्नति सुरु गरिएको छ। भीरकाटे क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गरी पहरा फुटाएर सडक चौडा बनाउने काम भइरहेको छ।

आयोजनाका अनुसार कमजोर भूबनोटका कारण बर्खायाममा बाढीपहिरोले यातायात अवरुद्ध हुने समस्या रहेकाले पहिरो नियन्त्रण र सडक सुधारलाई प्राथमिकता दिइएको छ। रातोपानीदेखि काभ्रेभीरसम्मको पहिरो नियन्त्रणको काम सम्पन्न गरी थप स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ।

२०८३ श्रावण १७, आईतवार १६:०५ प्रकाशित
ट्रेन्डिङ समाचार