चितवन । चितवनको भरतपुर महानगरपालिका–१० स्थित एक खाजा घरबाट जुवा खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार बेलुका अष्टभुजा पेट्रोल पम्प पछाडि रहेको कमलबहादुर न्यौपानेले सञ्चालन गरेको विकल्प खाजा घरमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले जुवा खालबाट ७१ हजार ५१५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ। पक्राउ पर्नेमा रास्वपा चितवन जिल्ला कमिटी सदस्य मनोज पौडेलसहित खाजा घर सञ्चालक कमलबहादुर न्यौपाने लगायत ११ जना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ परेकामाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।
२०८३ श्रावण १७, आईतवार १५:४१ प्रकाशित

