काठमाडौं । सरकारले आफूभन्दा कनिष्ठ सचिवलाई मुख्य सचिव नियुक्त गरेपछि नेपाल सरकारका सबैभन्दा वरिष्ठ (वरियतामा पहिलो नम्बरमा रहेका ) सचिव किरणराज शर्माले बिदा लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार शर्माले शुक्रबारदेखि साउन ३ गतेसम्म बिदा स्वीकृत गराएका छन्। साउन ४ गते उनको सचिव पदमा पाँच वर्षे कार्यकाल पूरा हुने भएकाले उनी बिदामै रहँदा अनिवार्य अवकाशमा जानेछन्।
स्रोतका अनुसार शर्माले शुक्रबार आयोजित नवनियुक्त मुख्य सचिव गोविन्दबहादुर कार्कीको पदबहाली कार्यक्रममा पनि सहभागिता जनाएनन्। सिंहदरबारमा यसलाई सरकारको मुख्य सचिव नियुक्ति निर्णयप्रतिको मौन असन्तुष्टिका रूपमा हेरिएको छ।
मन्त्रिपरिषद्ले गत बुधबार वरियतामा माथि रहेका दर्जनौ सचिवलाई पछि पार्दै गोविन्दबहादुर कार्कीलाई मुख्य सचिव नियुक्त गरेको थियो। उक्त निर्णयपछि निजामती प्रशासनभित्र वरियताक्रम, नेतृत्व छनोट र प्रशासनिक परम्पराबारे विभिन्न प्रश्नहरु उठिरहेका छन् ।
शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै सचिवका रूपमा कार्यरत थिए। उनले सरकारको नीति तथा कार्यक्रम तयार पार्ने कार्यको नेतृत्व गरेका थिए भने प्रशासनिक वृत्तमा इमानदार, शालीन र जिम्मेवार प्रशासकको छवि बनाएका छन्। वरियतामा पहिलो नम्बरमा रहेकाले मुख्य सचिवका लागि उनको नामलाई बलियो दाबेदारका रूपमा हेरिँदै आएको थियो।
तर सरकारले अपेक्षाविपरीत कनिष्ठ सचिवलाई मुख्य सचिव बनाएपछि शर्मा कार्यालय नफर्किने गरी बिदामा बसेका हुन्। अब उनी बिदाकै अवधिमा आफ्नो कार्यकाल पूरा गरी सेवानिवृत्त हुनेछन्।
सरकारको निर्णयसँगै निजामती प्रशासनभित्र वरियताको परम्परा, कार्यसम्पादनको मूल्याङ्कन र नेतृत्व चयनका मापदण्डबारे प्रश्न उठिरहेका छन्। वरिष्ठ सचिव शर्माको बिदा र मुख्य सचिवको पदबहाली कार्यक्रममा अनुपस्थितिलाई पनि त्यसैको संकेतका रूपमा प्रशासनिक वृत्तले अर्थ्याएको छ।मुख्य सचिव नियुक्तिलाई लिएर धेरै सचिवहरु असन्तुष्ट भएपनि उनीहरु खुल्न सकेका छैनन् । विभिन्न मन्त्रालयमा रहेका कार्की भन्दा सिनियर सचिवहरुको मनोबल समेत गिरेको बताइएको छ ।



