अतिरिक्त स्वास्थ्य सचिवमा देवकोटा र शर्मा सिफारिस


काठमाडौं । अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह) को रिक्त एक पदमा बढुवाका लागि डा. सुधा देवकोटा र डा. विनोदविन्दु शर्माको नाम सिफारिस गरिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले दुवै जनाको नाम सिफारिस गरेको हो। डा. देवकोटा हाल डडेलधुरा अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट हुन् भने डा. शर्मा गण्डकी प्रदेशको प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका निर्देशक छन्।

बढुवा मूल्यांकनमा लुम्बिनी प्रदेशकी स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ पनि प्रतिस्पर्धामा रहेकी थिइन्। तर प्राप्त अंकका आधारमा शीर्ष स्थानमा रहेका दुई जनाको नाम मात्रै सिफारिस गरिएको स्रोतले जनाएको छ।

तत्कालीन अतिरिक्त स्वास्थ्य सचिव टंक बाराकोटीले राजीनामा दिएपछि गत भदौदेखि उक्त पद रिक्त थियो। बढुवाका लागि १३ जना अधिकारीले आवेदन दिएका थिए। अब सिफारिसमा परेका दुईमध्ये एक जनालाई मन्त्रिपरिषद्ले अतिरिक्त स्वास्थ्य सचिवमा बढुवा गर्नेछ।

२०८३ जेष्ठ १९, मंगलवार १५:०२ प्रकाशित
ट्रेन्डिङ समाचार