टिकटकको चमकदार दुनियाँदेखि जेलको ढोकासम्म : किन पक्राउ परिन् सुन्दरी तुलसी ?


काठमाडौ। सामाजिक सञ्जाल टिकटकमार्फत चर्चामा आएकी तुलसी अधिकारी अन्ततः अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा थाइल्यान्डबाट पक्राउ परेकी छन्। लामो समयदेखि फरार रहेकी उनलाई शनिबार मध्यराति काठमाडौं ल्याइएपछि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

प्रहरीका अनुसार ठगी, आपराधिक विश्वासघात तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर आरोपमा खोजी सूचीमा रहेकी अधिकारीलाई आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपाल ल्याइएको हो। उनलाई सोमबार जिल्ला अदालत ललितपुरमा उपस्थित गराउने तयारी भइरहेको छ।

सामाजिक सञ्जालमा ‘तुलसा’ नामबाट परिचित अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ। एक पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धान सुरु भएको थियो।

अनुसन्धानका क्रममा प्रहरीले उनको बैंक खातामा अस्वाभाविक रूपमा ठूलो रकमको कारोबार भएको विवरण फेला पारेपछि सम्पत्ति शुद्धीकरणतर्फ पनि अनुसन्धान विस्तार गरेको थियो। त्यसपछि ठगीबाट प्राप्त रकम लुकाउने तथा व्यवस्थापन गर्ने गतिविधिसमेत भएको आशंकामा थप अनुसन्धान अघि बढाइएको थियो।

प्रहरी स्रोतका अनुसार सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले तुलसीविरुद्ध जाहेरी दिएका थिए। त्यसपछि उनी नेपालबाट बाहिरिएको र विभिन्न देशमा बस्दै आएको तथ्य खुलेको थियो।

अनुसन्धानका क्रममा उनी चीनमा रहेको निष्कर्ष प्रहरीले निकालेको थियो। चीनमा रहँदा पनि उनले सामाजिक सञ्जालमार्फत ब्ल्याकमेलिङ तथा आर्थिक लाभ लिने गतिविधि जारी राखेको सूचना पाएपछि नेपाल प्रहरीले इन्टरपोलमार्फत ‘रेड नोटिस’ प्रक्रियासहित अन्तर्राष्ट्रिय खोजी अभियान अघि बढाएको थियो।

लामो निगरानीपछि उनी थाइल्यान्डमा फेला परेकी थिइन्। त्यहाँको सुरक्षा निकायसँगको समन्वयमा पक्राउ परेपछि नेपाल ल्याउने प्रक्रिया पूरा गरिएको हो।

प्रहरीले ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसकेको जनाएको छ। अदालतले थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने विषयमा निर्णय गर्नेछ।

चमकदार टिकटक छविका कारण हजारौं फलोअर बनाएकी तुलसी अहिले भने करोडौं रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरण आरोपको सामना गर्दै अदालतको कठघरामा उभिनुपर्ने अवस्थामा पुगेकी छन्। अनुसन्धानका क्रममा थप आर्थिक कारोबार र सम्भावित पीडितहरूबारे पनि प्रहरी अनुसन्धान जारी रहेको जनाएको छ।

२०८३ जेष्ठ १७, आईतवार १२:५२ प्रकाशित
ट्रेन्डिङ समाचार