सावधान ! जंगली च्याउले फेरि लियो दुई बालबालिकाको ज्यान


चितवनमा एकै परिवारका सदस्य बिरामी, अर्की बालिकाको अवस्था गम्भीर

काठमाडौं । चितवनमा जंगली च्याउ सेवन गर्दा दुई बालबालिकाको मृत्यु भएको छ भने अर्की एक बालिकाको अवस्था गम्भीर बनेको छ। वर्षायाम सुरु भएसँगै जंगली च्याउका कारण हुने मानवीय क्षति फेरि दोहोरिन थालेपछि स्वास्थ्य सतर्कताबारे चिन्ता बढेको छ।

चितवनको इच्छाकामना गाउँपालिका–१, कुलबाङका एकै परिवारका सदस्यले जंगली च्याउ खाँदा उक्त घटना भएको हो। मृत्यु हुनेमा ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नमुनाको मृत्यु जेठ १ गते उपचारकै क्रममा भएको थियो भने सञ्जयको शनिबार राति निधन भएको हो।

वैशाख २९ गते श्यामबहादुर चेपाङको परिवारका पाँच जनाले जंगलबाट ल्याइएको च्याउ पकाएर खाएका थिए। त्यसपछि उनीहरूमा स्वास्थ्य समस्या देखिएको थियो। बिरामी परेकामध्ये तीन जनालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो।

उपचाररत १३ वर्षीया मनिता चेपाङको अवस्था अझै गम्भीर रहेको जनाइएको छ। चिकित्सकहरूले विषालु च्याउ सेवनका कारण शरीरका महत्वपूर्ण अङ्गमा असर पुग्ने भएकाले उपचार जटिल बन्ने बताएका छन्।

नेपालका विभिन्न जिल्लामा वर्षेनी जंगली तथा विषालु च्याउ सेवनका कारण दर्जनौँ मानिस बिरामी पर्ने तथा ज्यान गुमाउने घटना दोहोरिने गरेका छन्। ग्रामीण क्षेत्रमा जंगलबाट ल्याइने च्याउ सुरक्षित हो वा विषालु भन्ने पहिचान गर्न नसक्दा यस्ता दुर्घटना हुने गरेका हुन्।

स्वास्थ्यकर्मीहरूले चिनेको र सुरक्षित प्रमाणित च्याउबाहेक अन्य च्याउ सेवन नगर्न आग्रह गरेका छन्। साथै स्थानीय तह, स्वास्थ्य कार्यालय र सम्बन्धित सरकारी निकायले विषालु च्याउबारे जनचेतनामूलक अभियान प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

२०८३ जेष्ठ ३, आईतवार १४:२० प्रकाशित
ट्रेन्डिङ समाचार