उत्तेजना फैलाउने षड्यन्त्र हुन सक्ने, छानबीनको माग
काठमाडौ: बानेश्वरमा भदौ २३ गते प्रतिनिधि सभा भवन अघि भएको गोलीकाण्डमा स्पाइनर पेस्तोल प्रयोग गरिएको हुन सक्ने आशंका गरिएको छ । सरकारका उच्च अधिकारीहरुले प्रहरीको राइफलको गोलीबाट त्यति धेरै मानिसहरु मर्न नसक्ने भन्दै यस विषयमा गम्भीर छानबीन हुनुपर्ने बताएका छन् । काठमाडौका प्रमुख जिल्ला अधिकारी छवि रिजाल बानेश्वरमा त्यति धेरै मानिसहरु मृत्यु भएको खबर पाउदा आश्चर्यमा पर्नुभएको थियो । रिजालले प्रहरीलाई त्यसरी गोली हान्ने अधिकार नदिइएको र प्रहरीको राइफल बाट त्यति धेरै मानिसहरुको मृत्यु हुन नसक्ने भन्दै निकटस्थहरुसँग आश्चर्य व्यक्त गर्नुभएको थियो । सोही दिन भएको गोली प्रहारमा कम्तिमा १९ जनाको घट्नास्थलमै मृत्यु भएको थियो । मृतक मध्ये कतिपयलाई टाउकोमा नै गोली लागेको थियो । यो प्रकरणमा कुनै बाह्य पक्षको हात हुन सक्ने आशंका गरिएको छ ।
वरिष्ट अधिवक्ता युवराज संग्रौलाले नेपालका प्रहरीले हानेको राइफलको गोलीले ठ्याक्कै टाउकोमा लाग्ने सम्भावना कम हुने भएकाले सो गोली काण्ड प्रकरण रहस्यमय भएको बताउनुभयो । ‘एकाध घट्ना बाहेक प्रहरीले हानेको गोली पाखुुरा, खुट्टा, पेटमा र छात्ती तिर लाग्छ तर टाउको र निधारमा लाग्ने गोली राइफलबाट खासै हुँदैन्’ वरिष्ट अधिवक्ता संग्रौलाले भन्नुभयो ‘सो घट्नामा राइफलको गोली भन्दा पनि ४ सय मिटर परबाट वाइनाकुलर प्रयोग गरेर स्पाइनर मार्फत टाउको र निधारमा गोली हानेको जस्तो देखिन्छ ।’
संग्रौलाले त्यस दिन प्रतिनिधि सभाको अगाडि जसरी गोली फुत्रुक फुत्रुक खसेको छ, त्यसरी स्पाइनर प्रयोग गर्ने कुनै बाह्य अपराधी त थिएनन् भन्ने प्रश्न समेत गर्नुभएको छ । ‘त्यो प्रहरी माथि आरोप लगाएर विध्वंस मच्चाउन उद्धत कुनै अपराधिक गिरोह त थिएन ? त्यस सम्वन्धमा सरकारले गम्भीर छानबीन गरि सत्यतथ्य बाहिर ल्याउनुपर्छ । ’वरिष्ट अधिवक्ता संग्रौलाले भन्नुभयो ।


