काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूको स्वमूल्याङ्कन गर्ने भएको छ । आयोगले ‘राजनीतिक दल स्वमूल्यांकनसम्बन्धी कार्यविधि’को मस्यौदा तयार गरेको छ, जसमा दलहरूको मूल्यांकनका लागि विभिन्न सूचक र अंकभार प्रस्ताव गरिएको छ ।
मस्यौदाले सङ्गठनात्मक संरचनाका लागि ८, आन्तरिक व्यवस्थापनका लागि २२ तथा दलको जिम्मेवारीका लागि १५ अंकभार प्रस्ताव गरेको छ । त्यसैगरी, लैङ्गिक तथा समावेशी व्यवस्थाका लागि १० अङ्क, कोष व्यवस्थापन र लेखापरीक्षणजस्तो महत्त्वपूर्ण पक्षका लागि २० अङ्क, निर्वाचनमा सहभागिता र प्रतिनिधित्वका लागि १५ अङ्क तथा अन्य राजनीतिक व्यवस्थाका लागि १० अंकभार तोकिएको छ ।
स्वमूल्यांकनका क्रममा आयोगले दलहरूले विधान र कानुनको पालना गरेरनगरेको विस्तृत रूपमा हेर्नेछ । यसअन्तर्गत दलको विधानमा उल्लेख भएबमोजिम केन्द्रीय, प्रदेश र स्थानीय तहका समितिहरूको गठन, प्रत्येक पाँच वर्षमा हुनुपर्ने पदाधिकारीको आवधिक निर्वाचन र संसदीय दल गठनको अवस्थाजस्ता विषयहरू मूल्यांकनको आधार बन्नेछन् ।
आन्तरिक व्यवस्थापनतर्फ सदस्यताको अद्यावधिक विवरण र नियमित बैठकहरूलाई हेरिनेछ भने आर्थिक पारदर्शिताका लागि दलको छुट्टै कोष, बैङ्क खाता सञ्चालन, २५ हजार रुपैयाँभन्दा माथिको सहयोग बैंकिङ प्रणालीबाट लिएरनलिएको र एक लाखभन्दा बढीको चन्दामा स्रोत खुलाएकोरनखुलाएको जस्ता पक्षहरूको जाँच गरिनेछ।


