घुस काण्ड’ मा मुछिएका मन्त्री गुप्ता प्रधानमन्त्री निवासमा


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बालुवाटार बोलाएका छन् । ७८ लाख घुस प्रकरणको अडियो बाहिरिएपछि विवादित बनेका मन्त्री गुप्तालाई हटाउने तयारी स्वरूप प्रधानमन्त्री ओलीले छलफलको लागि बालुवाटार बोलाएका हुन् ।

अहिले प्रधानमन्त्री ओली र मन्त्री गुप्ताबीच छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दियो । विवादित अडियो आएपछि यसअघि पनि प्रधानमन्त्री ओलीले सोधखोज गरेका थिए । मन्त्री गुप्ताले आफूलाई फसाउने नियतले पैसाको पोको नै मन्त्री क्वार्टरमा छोडेर अडियो बनाएको दाबी गरेका थिए ।

तर उनको दाबी चित्तबुझ्दो नभएपछि ओलीले हटाउने तयारी गरेको स्रोत बताउँछ । उनलाई राजीनामा दिन लगाउने ओलीको तयारी छ । राजीनामा दिन अस्वीकार गरे बर्खास्त गरिने बालुवाटार स्रोतले बतायो । आजै साँझ प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेका शीर्ष नेताको बैठक पनि डाकेका छन् । एकपछि अर्को मन्त्री विवादमा तानिएपछि कांग्रेस एमालेलाई केही मन्त्री हेरफेर गर्नुपर्ने दबाब समेत बढेको छ । २०८१ पुस अन्तिमतिर मन्त्री गुप्ताले ७८ लाख घुस मागेको र केही रकम समेत बुझेको अडिओ केहीदिनअघि मात्र सार्वजनिक भएको थियो ।

२०८२ असार ३०, सोमबार १२:३१ प्रकाशित
ट्रेन्डिङ समाचार