
पाल्पा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ (सुरुङकाे भुइँकाे भाग) निर्माणको काम सकिएको छ । मुख्य टनेलको कुल एक हजार ८९ मिटरमा इन्भर्टको निर्माण कार्य सकिएको सुरुङमार्ग आयोजना कार्यालयकी इन्जिनियर सविता ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘इन्भर्ट निर्माणको काम बुधवारदेखि सकिएको छ । ‘लाइनिङ’ (भित्री ढलान/फाइनल फिनिसिङ) को काम धमाधम अगाडि बढाइरहेका छौँ । अहिलेसम्म लाइनिङको काम ८३४ मिटर सकिएको छ ।’
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको अहिलेसम्म समग्र भौतिक प्रगति ५६ दशमलव तीन प्रतिशत पुगेको छ । यसैगरी वित्तीय प्रगति ५० दशमलव २४ प्रतिशत रहेको आयोजनाले जनाएको छ । सुरुङमार्ग छिचाेलिएपछि कामले गति लिएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक हजार १२६ मिटर सुरुङमार्ग २०७९ सालदेखि निर्माण शुरू भएको हो । सुरुङमार्ग पाँच वर्ष अर्थात् २०८३ सालमा सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशनले सात अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँको लागतमा ठेक्का पाएकाे थियो ।
सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र पर्छ । सुक्खायाममा पनि धूले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो । यस खण्ड हुँदै गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म गाडी सञ्चालन हुने गर्छन् ।
पाल्पा–सिद्धबाबा मन्दिरदेखि एक हजार १२६ मिटर लामो निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग र नागढुङ्गा सुरुङमार्गका लागि सरकारले आउँदाे आर्थिक वर्षका लागि दुई अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ ।