
काठमाडौं । नेपाली यु-१६ क्रिकेट टोली एसीसी पुरुष यू–१६ इष्ट जोन कपमा समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। नेपालले आज समूह चरणको अन्तिम खेलमा भुटानलाई २९८ रनले हराएको हो ।
नेपालले दिएको ३ सय ५९ रनको लक्ष्य पछ्याएको भुटान ३२.४ ओभरमा ६० रन बनाउँदा अलआउट भयो। नेपालका लागि कप्तान विपिन शर्माले ४ विकेट लिए । सचिन भट्टले २ विकेट लिए। सुयोग भट्टराईले १ विकेट लिए ।
भुटानका लागि शेजाङ दावाले सर्वाधिक १४ रन बनाए । उग्यान केल्जाङ चोपेलले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अङ्कको स्कोर छुन सकेनन्।
त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रन बनाएको थियो । रौनक श्रीवास्तवले १ सय ६८ रनको महत्त्वपूर्ण योगदान दिए। जय थापा ६१ रनमा नटआउट रहे। सचिन भट्ट ८ रनमा नटआउट रहे।
श्रीवांस बजगाईले ५४ रन बनाए, सुगम बुढाथोकीले ३५ रन जोडे। भुटानका लागि सञ्जय दोर्जीले ३ विकेट लिए। तेन्जिङ जाम्त्सोले एक विकेट लिए । फाइनल प्रवेशका लागि अब नेपाल र मलेसिया तथा हङकङ र सिंगापुर भिड्नेछन्। दुवै सेमिफाइनल बिहीबार हुनेछन्। तेस्रो स्थानको खेल र फाइनल शनिबार हुनेछन्।