बेरुजु शून्य गर्न सफल काभ्रेको महाभारत गाउँपालिकालाई महालेखाको सम्मान


काठमाडौ। काभ्रे जिल्लाकाे महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा सम्मानित भएका छन् । गत आवको लेखापरीक्षणबाट यो गाउँपालिकाको बेरुजु शून्य कायम गराउन सफल भएको भन्दै महालेखाले उत्कृष्ट पालिकाका रूपमा गाउँपालिका अध्यक्ष जिम्बालाई सम्मान गरेको हाे ।

गत आव ०८०/८१ मा स्थानीय तहहरूको बेरुजु दुई खर्ब नौ अर्ब २८ करोड ९१ लाख छ । अधिकांश स्थानीय तहमा आर्थिक अपारदर्शिताका बग्रेल्ती कैफियत महालेखापरीक्षक कार्यालयले वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

तर, यसमा अपवाद बनेको छ, काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका  गत आवको लेखापरीक्षणबाट यो गाउँपालिकाको बेरुजु शून्य कायम भएको छ । अर्थात्, बेरुजु नै छैन । शून्य बेरुजु कायम गरेको भन्दै महालेखाले उत्कृष्ट पालिकाका रूपमा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बालाई सम्मान गरेको छ ।

महालेखाको ६७औँ वार्षिकोत्सव समारोहमा आइतबार सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले महालेखाको प्रशंसापत्र जिम्बालाई प्रदान गरे । आव ०८०/८१ को लेखापरीक्षण गर्दा स्थानीय तहतर्फ गाउँपालिकाको लगती बेरुजु शून्य देखिएको भन्दै महालेखाले उनलाई सम्मान गरेको हो ।

गत आवमा गाउँपालिकाले चालू, पुँजीगत र वित्तीय/अन्य व्यवस्थातर्फ गरेर कुल ७२ करोड ८८ लाख ६८ हजार रुपैयाँ खर्च गरेको थियो । महालेखाले लेखापरीक्षण गर्दा प्रारम्भिक प्रतिवेदनबाट ५७ लाख रुपैयाँ बेरुजु कायम भएको थियो । तर, त्यो पूरै रकम गाउँपालिकाले फर्स्याेट गरिदिएपछि महालेखाले बेरुजु सम्परीक्षण गरिदिएको थियो ।

अध्यक्ष जिम्बाले आफूहरूको निष्ठा र कानुनसम्मत काम गराइको परिणामले गाउँपालिका बेरुजुविहीन भएको प्रतिक्रिया दिए । ‘हाम्रोभन्दा पनि कानुनसम्मत तरिकाले काम गर्‍याैँ,’ उनले  भने, ‘कानुनबमोजिम मात्र काम गर्ने दृढसंकल्पले नै यो सम्भव भएको हो ।’ अघिल्लोपटक पनि यो गाउँपालिकाको बेरुजु शून्य नै थियो । अरू स्थानीय तहहरूलाई पनि कानुनसम्मत तरिकाले काम गर्ने सुझाव उनी दिन्छन् ।

२०८२ असार १६, सोमबार ११:१३ प्रकाशित
ट्रेन्डिङ समाचार