काठमाडौं । पश्चिम नेपालका विभिन्न १२ जिल्लामा आज (आइतबार) र भोलि (सोमबार) भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालले बुलेटिन जारी गर्दै विभिन्न क्षेत्रमा अति भारीसम्म वर्षा हुनसक्ने भन्दै १२ जिल्ला बढी जोखिमा रहेका जानकाारी दिएको हो ।
सुदूरपश्चिमको बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर, कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सल्यान, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङमा भारी वर्षाको जोखिम रहेको छ । अन्य प्रदेशका उच्च पहाडी क्षेत्रका एकदुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता सुरेन सुनारले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा प्युठान, डोटी, बागलुङ, कैलालीका केही ठाउँमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले देशभर बदली रहेको र कतिपय स्थानमा वर्षा भइरहेको जनाइएको छ ।
असार १६ सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । साथै अन्य प्रदेशको पहाडी भागका एकदुई स्थानमा पनि भारीदेखि धेरै अतिभारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

