
काठमाडौँ । काठमाडौँको नागढुंगामा एक ट्राफिक प्रहरी र एक जवानबीच भएको हातपात घटनापछि दुवैलाई तत्काल जिम्मेवारीबाट हटाइएको छ। सामाजिक सञ्जालमा कुटपिटको भिडियो सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय कार्यालयले उनीहरूलाई कार्यालय बोलाई छानबिन प्रक्रिया सुरु गरेको हो।
प्रहरी स्रोतका अनुसार दुवै कर्मचारीमाथि प्रारम्भिक रूपमा अनुशासनको कारबाही स्वरूप हालको जिम्मेवारीबाट हटाइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको र त्यसअनुसार आवश्यक निर्णय लिइने प्रहरीले जनाएको छ।
उक्त भिडिओमा एक ट्राफिक इन्स्पेक्टरले ड्युटीमा खटिएका प्रहरी जवानमाथि हातपात गरेको देखिन्छ। भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी संगठनमाथि प्रश्न उठेको छ।
प्रहरी मुख्यालयले घटनालाई गम्भीर रूपमा लिई निष्पक्ष अनुसन्धानको प्रतिबद्धता जनाएको छ।
२०८२ जेष्ठ १, बिहीबार १२:५२ प्रकाशित