
काठमाडौँ । दक्षिण कोरियामा भाषा अध्ययन र स्नातक तहको अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरूलाई अब वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) दिइने छैन।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार सूचना जारी गर्दै डी-टु (D-2) र डी-फोर (D-4) भिसामा कोरिया जान चाहने विद्यार्थीका लागि एनओसी स्थगित गरिएको जानकारी दिएको हो।
मन्त्रालयका अनुसार यी तहका विद्यार्थीहरू मुख्यतया रोजगारीप्रति केन्द्रित हुने, कम अध्ययन समय भएको विश्वविद्यालय रोज्ने, कोरियन सरकारले कालोसूचीमा राखेका शिक्षालयमा समेत भर्ना हुने, र अध्ययनभन्दा पैसा कमाउने सोचमा बढी लाग्ने जस्ता समस्याले पठनपाठनमा गम्भीर असर पारिरहेको छ।
मन्त्रालयले यस विषयमा सुधारका उपाय सुझाउन कार्यदल गठन गरेको छ। कार्यदलको प्रतिवेदनपछि मात्र आगामी नीति तय गरिने बताइएको छ।
कोरियामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि यो निर्णयले तत्काल असर गर्नेछ भने शिक्षा व्यवस्थापनमा नियमन र सुधारको संकेत पनि देखिएको छ।