सिंहदरबार सुरक्षा व्यवस्थापन तथा सहजीकरण कार्यदलको प्रतिवेदन,औंल्याइयो सिंहदरबारमा तत्काल गर्नुपर्ने २० कार्यहरू 


–प्रवेशद्वारमा क्यूआरसहितको इगेटपास सिस्टम लागू गर्नुपर्ने
–सम्भावित आगलागीको तत्काल प्रतिकार्य गर्न डेडिकेटेड युनिट बनाइने
–दुइटा गेट सञ्चालनमा ल्याउनुपर्ने
–सिफारिस कार्यान्वयनमा ल्याउने सचिव बैठकको निर्णय
–कुकुरको बन्ध्याकरण गर्नुपर्ने
काठामाडौं
देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारले नै विभिन्न समस्याहरू भोग्नुपरिरहेको पाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुवास श्रेष्ठको संयोजकत्वमा गठित ६ सदस्यीय सिंहदरबार सुरक्षा व्यवस्थापन तथा सहजीकरण कार्यदलले सिंहदरबारले भोग्नुपरेका समस्याहरू उजागर गर्दै तत्काल सुधार गर्नुपर्ने २० वटा कार्य पहिचान गरेको छ । सिंहदरबार प्रवेशलाई सुरक्षित र व्यवस्थित गर्ने सम्बन्धमा प्रधानमन्त्री कार्यालयका शासकीय मामिला हेर्ने सचिव चूडामणि पौडेलको संयोजकत्वमा गत चैत्र १७ गते बसेको बैठकको निर्णयअनुसार उपसचिव श्रेष्ठको नेतृत्वमा सो कार्यदल गठन गरी सिंहदरबारभित्रका समस्याहरू पहिचान गर्दै सुझावका उपायहरूसमेत औंल्याइएको छ ।
कार्यदल संयोजक उपसचिव सुवास श्रेष्ठले सिंहदरबारभित्र सुधार गर्नुपर्ने विषयहरू पहिचान गरी सुधारका अभियानहरूसमेत थालिएको जानकारी दिनुभयो । श्रेष्ठले समस्या पहिचान गरी सिंहरबारमा रहेका समस्या समाधान गर्न विभिन्न निकायले गर्नुपर्ने जिम्मेवारीसहितका २० सुझाव प्रतिवेदनमा सिफारिस गरिएको जानकारी दिनुभयो । श्रेष्ठका अनुसार प्रतिवेदनमा आंैल्याइएका र गर्नुपर्ने कार्यहरूलाई सचिव बैठकले समेत सम्बोधन गरी कार्यान्वयनमा ल्याउने निर्णय गरिसकेको छ । जसअनुसार सिंहदरबार प्रवेशका लागि गृह मन्त्रालयले सञ्चालनमा ल्याएको क्यूआरसहितको ईगेटपास सिस्टम लागू गर्ने, सम्पूर्ण कर्मचारीले सिंहरबार परिसरमा रहँदा अनिवार्य रूपमा सरकारी पोशाक र परिचयपत्र भिर्ने व्यवस्था सबै मन्त्रालय र निकायले मिलाउनुपर्ने रहेको छ ।
यसैगरी अन्य सुझावहरूमा सिंहदरबारभित्र सम्भावित आगलागीको तत्काल प्रतिकार्य गर्न गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीका तालिम प्राप्त दक्ष जनशक्ति रहने गरी डेडिकेटेड युनिट स्थापना गर्न आवश्यक समन्वय गर्ने, सिंहदरबार प्रवेशमा प्रयोग हुने सुरक्षा उपकरणहरूको खरिद प्रक्रिया यथाशीघ्र सम्पन्न गरी उक्त उपकरणहरू सञ्चालनमा ल्याउनुपर्ने, सिंहदरबार प्रवेशलाई थप व्यवस्थित बनाउन दक्षिण गेट क्षेत्रमा आवश्यक सुरक्षा उपकरणसहित दुईवटा गेट सञ्चालनमा ल्याउनुपर्ने तथा हाल सञ्चालनमा रहेको गेटलाई सवारीसाधन प्रवेश गेटमात्र बनाउने र पैदल प्रवेशमार्गको रूपमा रक्षा मन्त्रालयसँग रहेको हाल नरसिंह दलले प्रयोग गर्दै आएको गेटमा प्रतीक्षालयसहितको सुविधा सम्पन्न प्रवेश मार्ग निर्माण गर्न पनि सो कार्यदलले सरकारसमक्ष सिफारिस गरेको छ ।
यस्तै, कार्यदलले सिंहदरबार प्रवेशद्वारमा सर्वसाधारणका लागि ईगेटपास सिस्टम प्रयोगका लागि इन्टरनेटको यथोचित व्यवस्था गर्न, सबै मन्त्रालयले अव्यवस्थित पार्किङलाई व्यवस्थित बनाउन, निश्चित र सीमित क्यान्टिनहरूमात्रै सञ्चालन गर्न, सिंहदरबारभित्र रहेका सडक कुकुरहरूको व्यवस्थापन गर्न र वार्षिक कार्यक्रममा समेटेर कुकुरको बन्ध्याकरण गर्न, भित्रका सडकमा ट्राफिक सुरक्षा चिह्न र प्लास्टिक रबर ब्रेकर राख्ने व्यवस्था मिलाउन, सम्बन्धित मन्त्रालय परिसरभित्र रहेका काम नलाग्ने सवारीसाधन ७ दिनभित्र सिंहदरबारबाट हटाउन, सिंहदरबारभित्र जार र बोतलको पानी हटाउने अभियानलाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन समेत श्रेष्ठ संयोजकत्वको कार्यदलले सरकारलाई सिफारिस गरेको हो ।
उपसचिव श्रेष्ठले आफूहरूले औंल्याएका केही समस्याहरूको समाधान पनि गर्न थालिसकिएको जानकारी दिनुभयो । जसअनुसार सिंहदरबारभित्र सडकपेटीमा रहेका ऐनाहरू फेरिएको, छाडा कुुकुरको बन्ध्याकरण गर्न थालिएको, दक्षिण गेटको गेटपास क्षेत्रमा रहेको डिस्प्ले मर्मत सम्भार गराई सञ्चालनमा ल्याइएको, दक्षिण गेटमा रहेको सार्वजनिक शौचालयमा पानीको व्यवस्था गरिएको, अग्नि नियन्त्रक यन्त्र राख्ने व्यवस्था गरिएको छ ।

 

 

२०८२ बैशाख २९, सोमबार १२:४७ प्रकाशित
ट्रेन्डिङ समाचार