भारत–पाकिस्तान संघर्षमा चीनको J-10C लडाकु विमान प्रयोग, राफाल विमान खसेको दाबी


काठमाडौँ । भारत र पाकिस्तानबीचको पछिल्लो सैन्य झडपमा चीनमा निर्मित J-10C लडाकु विमानको प्रयोग भएको दाबी गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसलाई चीनको सैन्य प्रविधिको प्रभावकारितासँग जोडेर विश्लेषण गर्न थालेका छन्।

ब्रिटिश पत्रिका द टेलिग्राफका अनुसार पाकिस्तानले चीनबाट प्राप्त J-10C फाइटर जेट प्रयोग गरी भारतका तीन राफाल विमान खसालेको दाबी गरेको छ। पाकिस्तानका विदेशमन्त्री इशाक डारले संसदमा वक्तव्य दिँदै उक्त दाबी गर्दै चीनले यो सफलता देखेर खुसी व्यक्त गरेको उल्लेख गरेका थिए।

यद्यपि भारतले राफाल विमान खसालिएको भन्ने दाबी पुष्टि गरेको छैन। यदि यो पुष्टि भयो भने युद्धमै पहिलोपटक उन्नत प्रविधियुक्त राफाल विमान नष्ट भएको हुनेछ।

फ्रान्सका एक गुप्तचरस्रोतले सीएनएनलाई कम्तिमा एउटा राफाल विमान नष्ट भएको बताएका छन् भने अमेरिकी अधिकारीले रोयटर्सलाई उच्च आत्मविश्वासका साथ J-10C ले दुई भारतीय विमान PL-15 मिसाइलमार्फत खसालेको दाबी गरेका छन्।

PL-15 मिसाइल १४५ किलोमिटरसम्मको दूरीमा लक्ष्य भेदी गर्न सक्षम मानिन्छ। युद्धग्रस्त क्षेत्रमा देखिएका विमानका टुक्राहरू पनि यही मिसाइल प्रयोग भएको पुष्टि गर्न सक्ने आधारको रूपमा हेरिएको छ।

यद्यपि चिनियाँ विदेश मन्त्रालयले भने भारत–पाकिस्तानबीचको संघर्षमा आफ्ना विमान प्रयोग भए/नभएकोबारे जानकारी नभएको प्रतिक्रिया दिएको छ।

यसैबीच चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सका पूर्वसम्पादक हुई जिन्सिनले भारत–पाकिस्तान संघर्षले अब रुस र फ्रान्सको हवाई प्रविधिको स्तरलाई पनि उछिनेको टिप्पणी गरेका छन्।

तर रक्षा विश्लेषकहरूले विमान खसालिएको दावीमा पाइलटको गल्ती जस्ता पक्षलाई समेत ध्यानमा राख्नुपर्ने सुझाव दिँदै निष्कर्षमा पुग्न हतार नगर्न आग्रह गरेका छन्।

 

२०८२ बैशाख २८, आईतवार ११:०९ प्रकाशित
ट्रेन्डिङ समाचार