
काठमाडौँ । शिक्षक आन्दोलनपछि प्रभावित बनेको कक्षा १२ को परीक्षा अब तोकिएको मितिमा, वैशाख २१ गतेदेखि सुरु हुने पक्का भएको छ।
सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएपछि २९ दिनदेखि बन्द रहेका शैक्षिक गतिविधिहरू पुनः सञ्चालनमा आएका छन्। यससँगै माध्यमिक शिक्षा परिषद्ले अगाडि सारेको नयाँ तालिकाअनुसार परीक्षा तोकिएको मितिमा सञ्चालन गरिने भएको हो।
यसअघि शिक्षकमैत्री ऐनको माग गर्दै जारी आन्दोलनका कारण परीक्षा वैशाख ११ बाट सरेर २१ मा सारिएको थियो। अब भने सहमति अनुसार सरकारले ऐन यही असार १५ भित्र ल्याउने प्रतिबद्धता जनाएको छ।
शिक्षक महासंघले विद्यालयहरूमा नियमित पठनपाठन, विद्यार्थी भर्ना, र परीक्षाका कार्यहरू सुचारु गर्न अनुरोध गरेको छ।
२०८२ बैशाख १८, बिहीबार १०:५० प्रकाशित