
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापाको प्रमुख आतिथ्यमा हालै पदोन्नति भएका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
विशेष समारोहका बीच आयोजित कार्यक्रममा थापाले नवपदोन्नति अधिकृतहरूलाई चिन्ह लगाई शुभकामना दिएका हुन्।
दर्ज्यानी चिन्ह प्राप्त गर्नेमा चन्द्र कुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसी रहेका छन्।
समारोहमा महानिरीक्षक थापाले संगठनको दीर्घकालीन हित र सुधारका लागि प्रभावकारी योजना तथा रणनीतिहरू तयार गर्नुपर्नेमा जोड दिए। उनले नवपदोन्नति अधिकृतहरूलाई जनमुखी र पारदर्शी सेवा प्रवाहमा नेतृत्वदायी भूमिका खेल्न निर्देशनसमेत दिए।
कार्यक्रममा प्रहरी संगठनका उच्च पदाधिकारी, कर्मचारी तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
२०८२ बैशाख १७, बुधबार १६:५७ प्रकाशित