चुरोट र रक्सीको मूल्य तीन गुणा बढाउन प्रस्ताव : मन्त्री पौडेल


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चुरोट र रक्सीको मूल्य वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन्।

उनका अनुसार अहिले प्रतिखिल्ली १० रुपैयाँ पर्ने चुरोटको मूल्य ३० रुपैयाँ पुर्‍याउनु उपयुक्त हुनेछ। यस्तै, रक्सीको मूल्य प्रति बोतल हालको एक हजार रुपैयाँबाट बढाएर तीन हजार रुपैयाँ बनाउने प्रस्ताव उनले गरेका छन्।

नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको १७औं वार्षिकोत्सव तथा रक्त सञ्चार केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो प्रस्ताव ल्याउनुको उद्देश्य स्वास्थ्य बीमालाई स्थायीत्व दिनु रहेको बताए।

उनले जनाएअनुसार मूल्य वृद्धिबाट संकलित रकमको केही अंश स्वास्थ्य बीमा कार्यक्रममा लगानी गरिनेछ। यस्तै, अहिले एक लाख रुपैयाँको सीमामा रहेको स्वास्थ्य बीमाको लाभ पाँच लाख रुपैयाँ पुर्‍याउन मन्त्रालयले तयारी गरिरहेको पनि मन्त्री पौडेलले जानकारी गराए।

कार्यक्रममा अन्य जनप्रतिनिधिहरूले पनि स्वास्थ्य प्रणाली सुधारका विषयमा धारणा राखेका थिए।

२०८२ बैशाख १६, मंगलवार १२:२० प्रकाशित
ट्रेन्डिङ समाचार