काठमाडौँ। स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीमा ठगीको आरोपमा पक्राउ परेकी नेपाली काँग्रेसकी सांसद माया राईलाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले आइतबार सो अनुमति दिएको हो। राईलाई शनिबार काठमाडौंको बुढानीलकण्ठस्थित कपनबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो।
काठमाडौँ प्रहरी परिसरका अनुसार उनीमाथि सहकारी ठगी र संगठित अपराधको अभियोगमा पूरक अनुसन्धान सुरु गरिएको छ। राई नेपाली काँग्रेसबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा सांसद निर्वाचित भएकी हुन्।
स्वर्णलक्ष्मी सहकारी प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
२०८२ बैशाख १४, आईतवार १८:५६ प्रकाशित


