
काठमाडौँ। नेपाली पूँजी बजारमा नेप्से परिसूचक लगातार चौथो दिन घटेको छ। बुधबार नेप्से ३२.४४ अंकले घट्दै २६५५.८८ विन्दुमा बन्द भएको हो।
आइतबारदेखि सुरू भएको गिरावट क्रम बुधबार पनि जारी रहँदा बजारमा कारोबार रकम समेत घटेको छ। मंगलबार ८ अर्ब ३२ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार ७ अर्ब ५७ करोडमा सीमित रह्यो, जसले अघिल्लो दिनको तुलनामा ७५ करोडको कमी देखाएको छ।
आज ३०८ वटा धितोपत्रको एक करोड ८४ लाख ७७ हजार ७०३ कित्ता सेयर किनबेच भयो। यसदिन २८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१७ कम्पनीको घटेको छ। एक कम्पनीको मूल्य स्थिर रहेको छ।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर क्रमशः ८६१.७० र ७१२.४० रुपैयाँ पुगेको छ। यता, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतले घटेर २२२४.८० रुपैयाँमा झरेको छ।
सर्वाधिक कारोबार भएको कम्पनीमा राधी विद्युत अगाडि रह्यो, जसको सेयर ५७५ रुपैयाँमा ५८ करोड ४२ लाख बराबरको किनबेच भयो। दोस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चर रहँदा यसका सेयर १८७९ रुपैयाँमा ५१ करोड ६३ लाखको कारोबार भयो।