
काठमाडौँ। लगातार नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्यमा बुधबार एकैदिन ७ हजार ५ सय रूपैयाँको गिरावट आएको छ। मंगलबार प्रतितोला एक लाख ९७ हजार ९ सय रूपैयाँमा कारोबार भएको सुन बुधबार घटेर एक लाख ९० हजार ४ सय रूपैयाँमा झरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य घटबढको पछिल्लो चरणमा सबैभन्दा ठूलो गिरावटमध्ये एक हो।
यस्तै, चाँदीको मूल्य पनि सामान्य रूपमै घटेको छ। मंगलबार प्रतितोला १,९७० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर १,९६५ रूपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा घटबढ देखिएको छ। आज सुनको अन्तर्राष्ट्रिय मूल्य प्रतिऔंस ३,३४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
२०८२ बैशाख १०, बुधबार ११:२६ प्रकाशित