
काठमाडौँ। मंगलबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ। कारोबारको अन्तिम समयमा नेप्से ९.९६ अंकले घटेर २६८८.३२ विन्दुमा पुगेर बन्द भएको हो।
यस दिन कारोबार रकम समेत घटेको छ। अघिल्लो दिन (सोमबार) ८ अर्ब ७७ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार घटेर ८ अर्ब ३२ करोडमा सीमित भएको छ। कारोबार रकममा ४५ करोड रूपैयाँको गिरावट आएको हो।
आज ३१९ वटा धितोपत्रको दुई करोड २५ लाख ५५ हजार ७१३ कित्ता सेयर किनबेच भएको छ। त्यसमा ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १६० कम्पनीको घटेको छ। एक कम्पनीको मूल्य स्थिर रह्यो।
नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७८३ रूपैयाँ ४० पैसा कायम भएको छ। त्यस्तै, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य ९.९८ प्रतिशतले वृद्धि भई ६४७ रूपैयाँ ७० पैसा पुगेको छ।
विपरीत रूपमा, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतले घटेर दुई हजार ४७१ रूपैयाँ ९० पैसा पुगेको छ। युनियन हाइड्रोपावरको सेयर मूल्य पनि ६.०७ प्रतिशतले घटेको छ।
मंगलबार सबैभन्दा बढी कारोबार ङादी ग्रुप पावरको भयो। उक्त कम्पनीको सेयर प्रतिकित्ता ३२६ रूपैयाँमा ४४ करोड ६० लाख रूपैयाँ बराबरको कारोबार भएको हो। दोस्रो स्थानमा हिमालयन पावर पार्टनर रह्यो, जसको सेयर प्रतिकित्ता ५८२ रूपैयाँमा ४० करोड ९४ लाखको कारोबार भयो।