सत्य निरूपण र बेपत्ता छानबिन आयोगका पदाधिकारीका लागि १११ जनाको आवेदन


काठमाडौँ। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष तथा सदस्य पदका लागि १११ जनाले आवेदन दिएका छन्।

कानुन मन्त्रालय मातहतको नाम सिफारिस समितिको सचिवालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार ८२ जनाले व्यक्तिगत रूपमा तथा २९ जनाको नाम संस्थागत रूपमा सिफारिस समितिसमक्ष पेश गरिएको हो।

सिफारिस समितिको वैशाख ८ गतेको निर्णयअनुसार आयोगका पदाधिकारी पदका लागि परेका आवेदकहरूको नामावली सार्वजनिक गरिएको हो।

२०७९ साउनदेखि दुवै आयोग पदाधिकारीविहीन रहँदै आएको छ। यसअघि गठित ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिले राजनीतिक सहमति नजुटेको भन्दै कुनै नाम सिफारिस नगरी समय गुजारेको थियो।

सरकारले पुनः मिश्रकै संयोजकत्वमा समिति कायम राख्दै नाम सिफारिस गर्ने जिम्मा दिएको हो। अब उक्त समितिले आवेदन परेका उम्मेदवारहरूमध्येबाट योग्य व्यक्तिहरूको नाम सिफारिस गर्नेछ।

 

२०८२ बैशाख ९, मंगलवार १२:२६ प्रकाशित
ट्रेन्डिङ समाचार