काठमाडौँमा युवा उतार्ने एमालेको योजना, ११ वैशाखमा भव्य ‘सेलिब्रेसन’


काठमाडौँ। सत्तारूढ नेकपा (एमाले) ले ११ वैशाखमा युवाहरूलाई काठमाडौंमा उतारेर लोकतन्त्र स्थापनाको अवसरमा विशेष उत्सव आयोजना गर्ने भएको छ।

एमालेले निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्र स्थापनाको दिनलाई ‘युवा सेलिब्रेसन’ का रूपमा मनाउने तयारी गर्दै सबै तहका पार्टी कमिटी र जनप्रतिनिधिहरूलाई सहभागी गराउन निर्देशन दिएको हो।

एमाले महासचिव शंकर पोखरेलद्वारा पठाइएको परिपत्र अनुसार, वडा र पालिका कमिटीमा अनिवार्य रूपमा सहभागी गराइएका ३३ प्रतिशत युवालाई काठमाडौं ल्याउन भनिएको छ। यस्तै, जिल्ला कमिटीका १५ प्रतिशत र प्रदेश कमिटीका १० प्रतिशत युवा सदस्यहरूलाई पनि अनिवार्य रूपमा उपस्थित गराउन निर्देशन दिइएको छ।

स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षदेखि प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएका नेता-कार्यकर्तासम्मलाई काठमाडौं आउन भनिएको छ।

बागमती प्रदेशका लागि भने छुट्टै तयारी गरिएको छ। त्यहाँका सम्पूर्ण जनप्रतिनिधि, संगठनका सदस्य तथा सम्पर्क मञ्चमा आबद्ध ४० वर्षमुनिका युवाहरूलाई कार्यक्रमको सफलताका लागि परिचालन गर्न भनिएको छ।

एमालेले जारी परिपत्रमा यदि कुनै वडाबाट तय संख्या पुगेन भने अन्य वडाबाट पूर्ति गर्न सकिने उल्लेख गरिएको छ, तर कूल संख्या भने घटाउन नमिल्ने स्पष्ट गरिएको छ।

२०८२ बैशाख ८, सोमबार १७:३९ प्रकाशित
ट्रेन्डिङ समाचार