
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार लगातार दोस्रो दिन घटेको छ। नेप्से परिसूचक ७.७५ अंकले घटेर २६९८.२८ विन्दुमा पुगेर बन्द भएको हो।
यस दिन बजारको कारोबार रकम भने बढेको देखिएको छ। आइतबार ८ अर्ब ४३ करोड रुपैयाँको सेयर कारोबार भएको थियो भने सोमबार कारोबार रकम ८ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा ३४ करोड रुपैयाँले कारोबार रकम वृद्धि भएको हो।
नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार ३१९ वटा धितोपत्रको दुई करोड १२ लाख तीन हजार ७६६ कित्ता सेयर किनबेच भएको छ।
साताको दोस्रो दिन ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ कम्पनीको घटेको छ। एक कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ। नेपाल माइक्रोको सेयर मूल्य ७१२ रुपैयाँ २० पैसा र क्रेस्ट माइक्रोको ५८८ रुपैयाँ ९० पैसा कायम भएको छ।
त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.८८ प्रतिशतले वृद्धि भई २७४६ रुपैयाँ ५० पैसा पुगेको छ।
उता, गुडविल फाइनान्सको डिबेन्चरको मूल्य ७.७५ प्रतिशतले घटेर १२५७ रुपैयाँ ६० पैसा पुगेको छ। एनएमबी हाइब्रिड फण्डको मूल्य पनि ७.७० प्रतिशतले घटेर ९ रुपैयाँ २३ पैसा कायम भएको छ।