३ करोड २९ लाखको भ्रष्टाचार अभियोगमा उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध मुद्दा


काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ उपत्यका विकास प्राधिकरणमा कार्यरत अमिन दिनेश प्रसाद यादव विरुद्ध ३ करोड २९ लाख रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गौरीघाटस्थित बागमती नगर जग्गा एकीकरण आयोजना अन्तर्गत करार सेवामा कार्यरत यादवमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको हो। आयोगले २०६३ सालदेखि २०८१ असार ३० गतेसम्मको समयावधिमा यादवको सम्पत्ति र आय–व्ययको अनुसन्धानगरेको थियो।

अनुसन्धानका क्रममा यादवले वैध आम्दानीबाट २ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको देखिएको छ भने त्यस अवधिमा उनले ५ करोड ७१ लाख रुपैयाँ बराबरको खर्च गरेको पाइएको छ। आयोगका अनुसार, उनको खर्च आम्दानीभन्दा अत्यधिक देखिएको र त्यो रकम गैरकानूनी रुपमा आर्जन गरिएको पुष्टिभएको हो।

यस आधारमा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत दफा २०(१) अनुसार दोषी ठहर गर्दै दफा २०(२) बमोजिम सजायको माग गरिएको छ।

यस्तै, दिनेश यादवले उक्त गैरकानूनी रकमबाट आर्जन गरेको सम्पत्ति श्रीमती अमृता कुमारी यादवको नाममा राखेको पाइएको छ। त्यसैले अमृता कुमारीलाई पनि प्रतिवादी बनाइ सम्पत्ति जफतको मागसहित मुद्दा दायर गरिएको हो।

२०८२ बैशाख ८, सोमबार १६:३० प्रकाशित
ट्रेन्डिङ समाचार