काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण (ह्याबियस कर्पस) सम्बन्धी रिटमा आज सुनुवाइ हुँदैछ।
उक्त रिट रविको श्रीमती निकिता पौडेलले आइतबार सर्वोच्च अदालतमा दायर गरेकी हुन्। रिटमाथि सुनुवाइका लागि न्यायाधीश हरि फुयाँलको एकल इजलासमा पेसी तोकिएको छ।
लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा संलग्न रहेको आरोपमा चैत २२ गते पक्राउ परेका थिए। उच्च अदालत तुलसीपुर, बुटवल इजलासले रुपन्देही जिल्ला अदालतको एक करोड धरौटीमा रिहा गर्ने आदेश बदर गरेपछि उनी थुनामा छन्।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले लामिछानेको मुद्दामा कैफियत झिकाउने आदेश दिइसकेको थियो। तर अझै ठोस सुनुवाइ नहुनुका कारण खोज्दै श्रीमतीले पुनः रिट दायर गर्दै गैरन्यायिक थुनामा राखिएको भन्दै रिहा गर्न माग गरेकी हुन्।

