
काठमाडौँ । नेपालका सांसद सोबिता गौतमलाई अन्तरव्यवस्थापिका संघ (आईपीयू) को स्वास्थ्यसम्बन्धी समिति सदस्यको रूपमा निर्वाचित गरिएको छ। उज्बेकिस्तानको तास्कन्दमा भइरहेको १५०औं आईपीयू महासभाले बुधबार स्वास्थ्यसम्बन्धी समितिको सदस्यको रूपमा गौतमलाई चयन गरेको हो।
आईपीयूको स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नति गरेर नयाँ स्वास्थ्यसम्बन्धी समिति बनाउने निर्णय लिइएको थियो। यस समितिको २०२५ अप्रिल ९ मा आईपीयू शासकीय परिषद्ले १५ सदस्यलाई चार वर्षे कार्यकालका लागि निर्वाचित गरेको छ। समितिको कार्यकाल मार्च २०२९ मा समाप्त हुनेछ।
समितिमा नेपालबाट रास्वपा सांसद सोबिता गौतमसहित १३ जना निर्विरोध निर्वाचित भएका छन्। यसअघि, राष्ट्रिय सभा सदस्य अञ्जान शाक्य आईपीयूको दिगो विकास स्थायी समितिमा एसिया-प्रशान्त क्षेत्रको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै विजयी भएकी थिइन्।