
काठमाडौँ। शिक्षक र कर्मचारीहरूले शिक्षा ऐन जारी गर्नको लागि काठमाडौंमा दिउँसै टर्च बालेर सरकारको विरोध प्रदर्शन गरेका छन्। बानेश्वर-बबरमहल सडकखण्डमा जम्मा भएका शिक्षकहरूले मोबाइलको टर्च बालेर र नाराबाजी गर्दै आफ्नो माग राखेका थिए।
उनीहरूको प्रमुख माग भनेको गुणस्तरीय विद्यालय शिक्षा र शिक्षक–कर्मचारीमैत्री शिक्षा ऐनको तत्काल जारी हुनु हो। प्रदर्शनका कारण बानेश्वर–बबरमहल क्षेत्रको सवारी आवागमनमा अवरोध उत्पन्न भएको थियो।
शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरूले यो आन्दोलनमा भाग लिएका छन्। उनीहरूले यसलाई शिक्षा ऐनको मागमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन्। यसअघि पनि शिक्षकहरूले विभिन्न शान्तिपूर्ण विरोधका उपायहरू अपनाएका थिए।
यस आन्दोलनको प्रभावले एसइई परीक्षाका उत्तर पुस्तिका परीक्षणमा ढिलाइ हुने र नतिजा प्रकाशनमा पनि असर पर्ने चिन्ता व्यक्त गरिएको छ।