ज्ञानेन्द्रमा संवैधानिक राजा हुने क्षमता नै छैन, उनी निरंकुश हुन : देउवा


 

काठमाडौँ । कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुनै नसक्ने बताएका छन् ।

लुम्बिनीमा शनिबारदेखि सुरु भएको नेपाल लेखक संघको आठौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

शुक्रबार राजधानीमा भएको आन्दोलनले पूर्वराजा शाहले कस्तो शासन चाहन्छन् भनेर स्पष्ट भइसकेकाले उनमा संवैधानिक राजा हुने इच्छा नै नभएको बताएका छन् ।

‘हिजो भएको आन्दोलन एकदमै हिंसात्मक थियो । त्यो आन्दोलनको प्रकृति हेर्दा ज्ञानेन्द्रमा संवैधानिक राजा हुने कुनै क्षमता नै देखिएन । उनी निरंकुश छन्,’ उनले भने, ‘उनी अराजक भएको हिजोको आन्दोलनले देखाइसक्यो ।’

अहिलेको समय गणतन्त्रकै भएकाले व्यवस्था उल्टिन्छ कि भनेर आत्तिनु पर्ने अवस्था नरहेको उनको भनाइ थियो । देउवाले यतिबेला सबैले संयमता अपनाउन आवश्यक रहेको धारणा राखे ।

कांग्रेस निकट नेपाली लेखक संघको ८औं अधिवेशन शनिबार लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सभागृहमा सुरु भएको छ ।

२०८१ चैत्र १६, शनिबार १३:५७ प्रकाशित
ट्रेन्डिङ समाचार