मन्त्री नै नआएपछि प्रतिनिधिसभा बैठक स्थगित 


काठमाडौं । बुधबार बोलाइएको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । मन्त्रीहरूको उपस्थिति नभएपछि बैठक स्थगित गरिएको हो ।

बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको बताएका थिए । उनले मन्त्री उपस्थित नभकाले बैठक स्थगित गर्न माग गरे ।

“सरकारले सदनलाई हेपिरहेको छ, जनप्रतिनिधिलाई हेपिरहेको छ । हाम्रो अभ्यास सरकार मानिरहेको छैन,” उनले भने ।

उनले सरकारको उपस्थितिबिना बैठक नचल्ने नियमावलीको व्यवस्था स्मरण गराए । “यतिखेर सरकारको प्रतिनिधिसभामा कोही पनि छैनन् । समिति, उपसमितिमा सरकार उपस्थित हुँदैन । सरकार नभई बैठक चल्दैन, नियमावलीको व्यवस्था अनुसार तुरुन्त बन्द गरियोस्,” उनले भने ।

त्यसपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

२०८१ फाल्गुन २८, बुधबार १४:३० प्रकाशित
ट्रेन्डिङ समाचार