काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टीकी सचेतक बिना लामाले निजामती सेवामा ट्रेड युनियन पूर्ण रूपमा खारेज गर्नुपर्ने बताएकी छन् ।
प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि राप्रपाको धारणा राख्दै सचेतक लामाले यस्तो बताएकी हुन् ।
‘ट्रेड युनियनका नाममा कर्मचारीतन्त्रमा पार्टीगत शक्तिकेन्द्र भए । कर्मचारीभित्र ट्रेड युनियन पूर्ण रूपमा खारेज गरौँ, कर्मचारीलाई काम गर्न दिऔँ, ‘उनले भनिन् ।
कर्मचारीको मनोबल राजनीतिक संलग्नताले पनि घटाएको उनको भनाइ थियो । कर्मचारीतन्त्रमा राजनीतिक हस्तक्षेत्र हुन नहुने र कर्मचारीमा स्थायी सरकार भन्ने दम्भ पनि हुन नहुने उनले बताइन् । कर्मचारीलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न दिन नहुने उनले बताइन् । कर्मचारीको काममा नै राजनीतिक हस्तक्षेप रहेकाले त्यसमा रोक लगाउनुपर्ने उनले बताइन् ।


