रामकलेवा गरी विवाहपञ्चमी महोत्सव सम्पन्न गरियो


जन्तीको रुपमा आएका साधुशन्तलाई ५६ व्यञ्जन मिष्टान भोजन खुवाएर शनिबार बिदाइ गरेर रामकलेवा गरी सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न गरिएको छ ।

राम र सीताको वैवाहिक कार्यक्रम पश्चात जानकी मन्दिर प्रांगणमा बालबालिकालाई प्रतिकात्मक बनाइएको राम, लक्ष्मण, भरत, शत्रुधनसँगै साधुसन्तलाई मिष्टान भोजनसँगै गालीगीतले स्वागत गर्ने र उनीहरुलाई दानदक्षिणासहित बिदाइ गर्ने विधिलाई राम कलेवा भनिन्छ ।

रामकलेवा हेर्नसमेत दर्शनार्थीहरुको घुइँचो लागेको थियो । यसँगै सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो ।

मंसिर १६ गतेदेखि सुरु भएको विवाहपञ्चमी महोत्सवको पहिलेदिन दिन नगरदर्शन, दोस्रोदिन फुलवारी लिला, तेस्रो दिन धनुषा यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौ दिन मटकोर, छैटौं दिन विवाहपञ्चमी मनाइएको थियो ।

त्रेता युगमा मंसिर शुक्ल पक्षको पञ्चमी तिथिका दिन भगवान राम र आदर्शनारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव भव्यताका साथ मनाइन्छ

२०८१ मंसिर २३, आईतवार १०:५१ प्रकाशित
ट्रेन्डिङ समाचार