काठमाडौं । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ । तराईं र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यसैगरी आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । आज बिहान यहाँको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रह्यो भने अहिले केही सुधार भई १० डिग्री सेल्सियस पुगेको छ ।
विभागले आज सङ्घीय राजधानीको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहने प्रक्षेपण गरेको छ ।
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।