उपसभामुख हटाउने एजेन्डाबाट कांग्रेस–एमाले आफैँ ब्याक हुन्छनः प्रचण्ड


विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट कांग्रेस–एमाले आफैँ ब्याक हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

‘उपसभामुख एउटा इमानदार, जनजाति महिला, बालबच्चाको लागि ख्याति प्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटी गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौँ । सायद उहाँलाई हटाउने कुराबाट कांग्रेस–एमाले नै पछि हट्नु हुन्छ होला,’ प्रचण्डले भने ।

प्रचण्डले संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएको बताउँदै उनीहरू सबै उक्त पदका लागि योग्य भएको बताए । तपाईँहरूले बरीयता मिच्न लाग्नु भएको कुरा छ नि रु भन्ने प्रश्नमा उनले भने, ‘प्रधानन्यायाधीशको सिफारिसका लागि ८ जनाको नाम आएको छ । हिजोको बैठकमा पनि सिनियरिटीलाई तोड्नुपर्छ भनेर कसैले भनेको छैन । त्यस्तो समस्या परेको केही छैन ।’

उनले रिक्त रहेका संवैधानिक पदहरूमा एकै पटक नियुक्त गर्नु राम्रो हुने बताए । ‘एउटा एउटा गर्नु राम्रो हुँदैन भनेर मैले भनेको हुँ । सबै रिक्त रहेका हाम्रा संवैधानिक आयोगहरूमा सबै पूर्ति गर्नुपर्छ भन्ने लागेको छ,’ उनले भने ।

उनले ‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुङ्गिएसम्म संसद् चल्न नदिने पनि बताए । ‘एमालेका साथीहरूले जनयुद्धलाई ‘हिंसा’ भनेर अपभ्रम गर्ने, अपव्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको छ । त्यो विषयको सम्बोधन नभएसम्म संसदमा विरोध जारी रहन्छ,’ उनले भने ।

२०८१ भाद्र २९, शनिबार १३:०५ प्रकाशित
ट्रेन्डिङ समाचार