निजामतीमा राजीनामा दिने क्रम बढ्दो : गतवर्ष २२ सय बाहिरिए, ७ सय ९४ ले दिए राजीनामा


–४३ जना कर्मचारीको मृत्यु
–राजीनामा दिनुको कारणको छैन, कुनै खोजी
काठमाडौं  ।
स्थायी सरकार हाक्ने जिम्मेवारीमा रहेका निजामती कर्मचारीहरू जागिर खाइसकेपछि पनि राजीनामा दिएर बिचैमा निस्कने क्रम बढेको छ ।

राष्ट्रिय किताबखानाका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९ /८० मा निजामती सेवामा रहेकै अवस्थामा ७ सय ८ जनाले राजीनामा दिएकोमा गतआर्थिक वर्ष २०८०÷८१ मा भने यो संख्या केही बढ्न पुगेको छ । आर्थिक वर्ष २०८०/८१ मा राजीनामा दिने निजामती कर्मचारीको संख्या ७ सय ९४ रहेको राष्ट्रिय किताबखानाले जनाएको छ ।

कर्मचारीहरू जागिरको क्रममा राजीनामा दिएर निस्कने क्रम बढेपनि सरकारले कर्मचारीले राजीनामा दिनुका कारणबारे कुनै खोजी गर्न सकेको छैन । कर्मचारी हकहितको विषयमा काम गर्ने मुख्य जिम्मेवारीमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि यस विषयमा कुनै अध्ययन अनुसन्धान गर्न सकेको छैन ।

राष्ट्रिय किताबखानका अनुसार गतआर्थिक वर्षमा अनिवार्य अवकाससहित बाहिरिएका कर्मचारीको संख्या भने २ हजार २ सय रहेको छ । जसमध्ये अनिवार्य अवकाशमा गएका कर्मचारीको संख्या १४ सय ५० रहेका छन् ।

यसैगरी सो अवधिमा सचिवको ५ वर्षे कार्यकाल सकाएर उमेर नपुग्दै ४ जना सचिव अवकाश भएका छन् । यसैगरी गतवर्ष भविष्यमा अयोग्य नठहरिने गरी एकजना कर्मचारी बर्खास्तमा परेका छन् भने भविष्यमा अयोग्य ठहरिने गरी १ जना वर्खास्त भएका छन् ।

राष्ट्रिय कितावखानाका अधिकारीका अन्ुसार निजामती सेवामा आएका केही इमानदार व्यक्ति फ्रस्टेसनको सिकार भएर राजीनामा दिएका छन् । केही निजामती सेवामा प्रवेश गरेपछि विदेशको पीआर पाएकाले राजीनामा दिने गरेका छन् । केही कर्मचारी विदेशमा अध्ययन गर्न जादा उतै बेपत्तासमेत हुने गरेको बताइएको छ । सरकारको पैसामा अध्ययन गर्न जाने, तर उत्तै बेपता हुँदासमेत सरकारले उनीहरूको खोजतलास गर्न सकेको छैन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले कर्मचारी बिचैमा राजीनामा दिएर निस्कने क्रम बढ्नुले राम्रो सन्देश नदिने भएकाले यस विषयमा अध्ययन अनुसन्धान जरुरी रहेको बताए । ‘यो विषयलाई अहिलेसम्म प्राथमिकतामा नराखेको भए पनि अब भने मन्त्रालयले उच्च प्राथमिकतामा राखेर अध्ययन गरी कारण पत्ता लगाएर समाधान खोज्नुपर्छ,’प्रवक्त पराजुलीले भने ।

२०८१ श्रावण ८, मंगलवार १०:३० प्रकाशित
ट्रेन्डिङ समाचार