काठमाडौं । आजदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने भएको छ । बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म दैनिक (१२ घण्टा) धरहरा खुल्ने भएको हो ।
यसअघि सर्वसाधारणका लागि धरहरा दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म मात्र खुल्ला हुँदै आएको थियो । अबदेखि सार्वजनिक बिदाको दिन शनिबार पनि धरहरा चढ्न पाइने भएको छ ।
शहरी विकास मन्त्रालयका अनुसार शनिवार दिइने साप्ताहिक बिदाको सट्टा बुधवार धरहरा बन्द हुने छ । २०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुनर्निर्माणपछि गएको असोज ३ गतेदेखि परीक्षणका रूपमा खुला गरिएको थियो ।
गएको मङ्सिर ९ गतेदेखि भने शुल्कसहित धरहरा खुला गरिएको हो । धरहरा चढ्न विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
त्यस्तै अहिले स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय, सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रबाट आउने पर्यटकका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।


