काठमाडौं । धरहरा अब विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ। साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने भएको हो। सार्वजनिक विदाको दिन पनि अब धरहरा चढ्न पाइने मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बताए।
धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ। सरकारले दिने सार्वजनिक बिदाको दिन यो बन्द हुन्छ भने शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ।
‘अब विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म दुई सिफ्टमा धरहरा सञ्चालन गर्दैछौं। धरहरा घुम्न चाहनेहरुका लागि सार्वजनिक विदाको दिन पनि अब खुला रहनेछ,’ मन्त्रालयका प्रवक्ता मैनालीले भने।
०७२ वेशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुननिर्माणपछि यही असोज ३ गतेबाट परिक्षणका रुपमा खुला गरिएको थियो। गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा खुला गरिएको थियो।
सर्वसाधारण नागरिकले धरहरा खुल्ने समय कम भएको भन्दै गुनासो गर्दै आएका थिए भने सार्वजनिक विदाको दिन बन्द नगर्न सुझाव दिएका थिए। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नागरिकको सुझावलाई ध्यान दिँदै धरहरा सञ्चालनको अवधि बढोस् भन्ने नागरिकको चाहना अनुसार तयारी गर्न भनेपछि मन्त्रालयले सोही अनुसार दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो।


