ADVERTISEMENT

सर्वोच्च अदालतबाट जारी विवादास्पद पत्र प्रकरणमा शाखा अधिकृत पक्राउ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको गिरफ्तारीसँग जोडिएको शंकास्पद पत्र प्रकरणमा सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परेका छन्।

सर्वोच्च अदालतकै सुरक्षा इकाइले उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर, काठमाडौंमा बुझाएको हो।

सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाबाट जारी भएको भनिएको उक्त पत्रमा कानुनी प्रक्रिया विपरीतका विवरण उल्लेख भएका थिए।

चौधरीमाथिको आममाफीसम्बन्धी रिट अझै विचाराधीन रहेको अवस्थामा पनि पत्रमा ‘पक्राउ गरी कारागार पठाउने’ उल्लेख गरिएको थियो, जसले कानुनी तथा प्रशासनिक प्रणालीप्रति प्रश्न उठाएको छ।

पत्रमा जिल्ला अदालत कैलालीको साटो सिधै कारागारलाई सम्बोधन गरिएको, प्रहरी महानिरीक्षकलाई बोधार्थ पठाइएको, र अघिल्लो मुद्दाको मिसिललाई आधार बनाइएकोजस्ता त्रुटिपूर्ण पक्षहरू फेला परेका थिए। यसले पत्रको वैधतामाथि गम्भीर संका उत्पन्न गराएको थियो।

सर्वोच्च अदालतले यस विषयमा आन्तरिक छानबिन अघि बढाएको थियो र प्रारम्भिक अनुसन्धानमा शाखा अधिकृत विष्टको संलग्नता देखिएको अधिकारीहरूले जनाएका छन्।

अब विष्टले उक्त पत्र स्वेच्छाले जारी गरे वा कसैको निर्देशनमा गरे भन्नेबारे थप अनुसन्धान जारी छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार