ADVERTISEMENT

सर्वोच्चबाट पुनरावलोकनको मुद्दा फिर्ता लिँदै दीपक मनाङे, आफैं उपस्थित भए इजलासमा

काठमाडौँ। गण्डकी प्रदेशका पूर्वमन्त्री तथा विवादास्पद व्यक्तित्व दीपक मनाङे (राजीव गुरुङ) ले सर्वोच्च अदालतमा दिएको पुनरावलोकनको निवेदन फिर्ता लिने प्रक्रिया अघि बढाएका छन्।

सर्वोच्च अदालतले उनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै पाँच वर्षको कैद सजाय सुनाएको थियो। उक्त फैसलाको पुनरावलोकन माग गर्दै उनले निवेदन दिएका थिए। तर सुनुवाइमा ढिलाइ भएपछि उनले निवेदन फिर्ता लिने निर्णय गरेका हुन्।

न्यायाधीशत्रय कुमार रेग्मी, हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा बिहीबार सुनुवाइको पेसी तोकिएको छ। दीपक मनाङे आफैं इजलासमा उपस्थित भएका छन्।

पूर्व गुन्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको घटनामा मनाङेमाथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। प्रारम्भमा जिल्ला अदालतले उनलाई दुई वर्ष कैद सुनाएको थियो भने उच्च अदालत पाटनले सो आदेश उल्टाउँदै पाँच वर्ष कैद फैसला सुनाएको थियो। सर्वोच्चले सोही फैसला सदर गर्दै २०८१ कात्तिक २० गते दोषी ठहर गरेको थियो।

हाल मनाङेले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत कैद छुटको माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए। त्यसअनुसार फागुन २३ गते जिल्ला अदालत काठमाडौँले उनलाई १ वर्ष कैद छुट दिने आदेश गरिसकेको छ।

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार