एकताबद्ध भएर अघि बढे सरकार सफल हुने : देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकताबद्ध भएर अघि बढे सरकार सफल हुने बताएका छन्।

अहिले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार रहेको र भोलिका दिनमा कांग्रेसको नेतृत्वमा सरकार रहने भएकोले एकताबद्ध भई अघि बढ्नुपर्ने बताए।

‘हामी एकताबद्ध भई अघि बढ्नुपर्छ। त्यसो भएका खण्डमा भोलि हाम्रो सरकार बनेका खण्डमा उहाँहरू (एमाले) को पनि पूरा भरोसा रहनेछ,’ रूपन्देहीको भैरहवामा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार गरेको कार्यक्रममा देउवाले भने।

सभापति देउवाले अहिले सरकारमा कांग्रेस, एमालेसहित विभिन्न दलहरू रहेको पनि बताए। ‘सरकारमा रहेका सबै दलहरू एकताबद्ध भएर अघि बढेमा भोलिका दिनमा सरकार सफल हुनेछ,’ उनले भने।

साथै सभापति देउवाले पार्टीभित्र देखा परेका मतभेदलाई अन्त्य गरेर जानुपर्नेमा जोड दिए।

उनले पार्टीलाई अझै ठूलो बनाउन लाग्नुपर्ने बताए। ‘बहुमत ल्याउन नसकेता पनि कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्छ,’ उनले भने।

उनले कांग्रेसलाई जीवन्त पार्टीका रूपमा अघि बढाउनुपर्ने पनि बताए। ‘कांग्रेसका प्रति देशभित्र र बाहिर आकर्षण छ,’ उनले भने।

उपसभापति पूर्णबहादुर खड्का प्रमुख रहेको प्रतिष्ठानले प्रतिनिधि सभा क्षेत्रीय सभापति र क्षेत्रीय प्रशिक्षक शाखा प्रमुखका लागि प्रशिक्षण राखेको हो।

२०८१ फाल्गुन १९, सोमबार १६:११ प्रकाशित
ट्रेन्डिङ समाचार